महराबारे पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ६ २०८०
4.6K
SHARES

६ चैत काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्न सत्तारुढ नेकपा (माओवादी केन्द्र) हच्किएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा महराबारे छलफल भएपनि निजलाई पार्टीबाट निलम्बन गर्न प्रधानमन्त्री एवम्‌ माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै हच्किएका हुन्‌।‘महरा सरलाई निलम्बन गर्दा तस्करीको सबै कनेक्सन खुल्ने डर भएर होला, सीएम (प्रचण्ड)ले नै निलम्बन गर्न चाहनुभएन,’ बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘लहरो तान्दा पहरो नै भत्कने जोखिम छ, केही साथीहरूले उहाँलाई उपाध्यक्ष पदबाट भए पनि निलम्बन गरौं भन्नुभयो, तर अध्यक्ष कमरेडले बैठक बिना निष्कर्ष टुङ्ग्याइदिनुभयो।’

विद्युतीय चुरोट (भेप) र मोटरसाइकलको ब्रेकसुमा लुकाएर ल्याइएको गरी झण्डै ७० किलो सुन तस्करी प्रकरणमा महराको प्रत्यक्ष संलग्नताका प्रमाण भेटिएका छन्‌। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले महरालाई दोषी देखाउँदै मुद्धा चलाउन सरकारलाई सिफारिस गरेको थियो।प्राप्त प्रमाण, छानबिन समितिको सिफारिश र गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार प्रहरीले महरालाई हिजो (सोमबार) कपिलबस्तुको पकडीबाट पक्राउ गरेको थियो। काठमाडौं ल्याएर छानबिनका लागि अदालतबाट म्याद लिए पनि महरा अन्य पहुँचवाला अभियुक्त झैं गरी अस्पताल भर्ना भइसकेका छन्‌। आज बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष दाहालले समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका प्रवक्ता अग्नि सापकोटाले बताएका छन्‌। उनका अनुसार माओवादीले महराबारे आवश्यक छलफल गरी चाँडै निर्णय गर्नेछ।