आलोपालो प्रधानमन्त्री बन्ने बारे अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया
९ चैत काठमाडौ । अहिले पाँचदलीय सत्ता गठबन्धनमा तीन नेताले आलाेपालाे प्रधानमन्त्री बन्ने भनी सहमति गरेकाे अनुमानलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खारेज गरेका छन् । उनले आलाेपालाे प्रधानमन्त्री बन्ने सहमति नभएकाे मात्रै भनेका छैनन् भविष्यमा पनि यस्ताे खालकाे गलत संस्कार नस्वीकार्नेपनि प्रस्ट पारेका छन् ।आज साँझ पूर्वप्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बन्ने कुरा धारामा पानी थाप्न पालाे बसेजस्ताे नहुने बताएका छन् । उनले राजनीतिलाई आलोपालो वा तेरोमेरोमा आधारित रहेर भन्दा पनि गुण र दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसाल्न आग्रह पनि गरेका छन् ।
‘राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन । नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्छ’, ओलीले भनेका छन्, ‘यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ ।’ उनले आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिएकाे भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । यद्पि आफूहरू ‘तपाईंको पालो कहिले, उहाँको पालो कहिले’जस्ता प्रश्नहरूलाई चिरेर राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका ओलीले बताएका छन् ।