जीबी राईलाई समाएर ल्याउँछौं – गृहमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १० २०८०
2.8K
SHARES

१० चैत काठमाडौँ ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ बसेको भएपनि समाएर ल्याउने बताएका छन् । उनले देशमा होस् कि विदेशमा जहाँ भएपनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई पक्राउ गरिछाड्ने बताएका हुन् । उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए । ‘जीबी राई दोषी रहेछ भने सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ । आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं । समय लाग्ला, कसले भगायो त्यो पनि खोज्छौं,’ उनले भने ।

लामिछानेले सहकारीमा सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताएका छन् । उनले भने, ‘जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ । कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दुधको दुध, पानीको पानी निस्किन्छ ।’