पार्टीमा विवाद भएको हो, कसैलाई धम्की दिएको छैन – रेशम चौधरी
१९ चैत काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले केन्द्रीय समितिको बैठकमा सरकारमा जाने नजाने भन्ने विषयमा वादविवाद भए पनि आफूले कुनै धम्की नदिएको प्रष्ट पारेका छन्। केन्द्रीय सदस्य रमेश विश्वकर्माले संरक्षक चौधरीले कुट्ने र हत्या गर्नेसम्मको धम्की दिएको आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै त्यसको प्रष्टीकरण दिएका हुन्।
उनले भने- उहाँले भ्रामक कुरा बोल्नुभयो। बैठकमा पार्टीका अरू साथीहरू पनि थिए। उहाँसँग पत्रकार सम्मेलनमा बस्ने साथीहरू पनि बैठकमा थिए। नभएको कुरा गर्न हुँदैन भनेर मैले स्टाटस पनि लेखेको छु। केन्द्रीय समितिको बैठकमा सरकारमा जाने नजाने भन्ने विषयमा वादविवाद भएको हो। महाधिवेशनबाट निर्वाचित साथीहरूले आफ्नो हैसियत खोज्नुभएको हो।उनले नेता विश्वकर्मासहित नेताहरूले नै धम्की दिएर गएकाले आफूहरू चाहिँ असुरक्षित रहेको बताए।