मिल्यो प्रदेशको मुख्यमन्त्रीमा भागबन्डा , कहाँ कसको ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २० २०८०
31.7K
SHARES

२० चैत काठमाडौँ । सत्ता गठबन्धनका चार दलबीच सात प्रदेश सरकारमध्ये कुन कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति भएको छ।  सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा समझदारी भएको हो।

जसअनुसार बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने, गण्डकी, कर्णाली र कोसीको नेतृत्व एमालेलाई दिने सहमति भएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो गर्ने सहमति भएको छ। मधेस प्रदेशको मुख्यमन्त्रीचाहिँ जसपालाई दिने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। ‘आज गठबन्धनका नेताबीच सातै प्रदेशको भागबण्डा बाँडफाँटको समझदारी बढेको छ’, स्रोतले नेपालखबरसँग भन्यो, ‘एकीकृत समाजवादीले सुदूरपश्चिम र बागमतीमा आलोपालो सरकार चलाउनेछ, कर्णालीमा माओवादी र एमालेबीच आलोपालो गर्ने र लुम्बिनीमा पनि पहिलो चरणमा सरकार चलाउँदै छ।’

यस्तै माओवादी केन्द्रले नै नेतृत्व पाउने सहमति भएको लुम्बिनी प्रदेशमा भने हाल केन्द्रमा प्रमुख प्रतिपक्षी रहेको नेपाली कांग्रेस नेतृत्वको सरकार छ। चार दलबीच सहमतिअनुसार अब त्यहाँ माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिनेछ।  यसैगरी एमालेलाई मुख्यमन्त्री पद दिने सहमति भएको कर्णाली प्रदेशमा प्रधनमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई मुख्यमन्त्री पद एमालेलाई दिन निर्देशन दिइसकेका छन्। हाल त्यहाँ माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन्।