सहकारी प्रकरण : प्रश्न उठ्दैमा आत्तिइहाल्नु पर्दैन – गृहमन्त्री लामिछाने


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २० २०८०
3.6K
SHARES

२० चैत काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा कोही पनि आत्तिहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सञ्चारमाध्यममा पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको विषयमा जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको बताएका हुन् ।

गृहमन्त्री लामिछानेले समाचारमा आउने सबै सत्य नहुने भन्दै सत्य के हो त्यसको खोजी गरेर समाचार प्रकाशन एवं प्रसारण गर्न आग्रह गरे । उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए । उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गरे । गृहमन्त्री लामिछानेले सदनमा उठेका कुरामा आफूले जवाफ दिन पाउनुपर्ने बताए । ‘प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ,’उनले भने ।