बिम्स्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन – परराष्ट्रमन्त्री श्रेष्ठ
२० चैत काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बंगालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रतिस्थापन हुन नसक्ने स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कलाई निष्क्रिय बनाएर बिम्स्टेक चलाउने विषयमा नेपाल सहमत नभएको र बिम्स्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने बताएका हुन् ।
सार्कलाई सक्रिय बनाउन नसकिएको अवस्थामा सार्कलाई प्रभावकारी बनाउन थप पहलकदमी लिइने उनको भनाइ छ । उनले आफ्नो मुलुकको हित देख्ने मञ्चमा सहभागिता जनाउने र भूमिका खेल्ने नीति सरकारको रहेको धारणा बताए ।
श्रेष्ठले सन् २०२२ मा श्रीलंकामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेको जानकारी दिए । उनले संसद्बाट अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट व्यवस्था रहेको बताए ।