समाजवाद सडकबाट नै जन्मछ – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २० २०८०
3.8K
SHARES

२० चैत काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतामा मात्रै समाजवादको आधार तयार पार्ने तागत रहेको बताएका छन् ।समाजवादी मोर्चाले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले समाजवादको आधार तयार पार्ने उद्देश्यले नै जोखिम मोलेर सत्ता सहकार्य फेरिएको बताए । आफूले संविधान पूर्ण रहेको कहिल्यै नभनेको पनि उनले बताए । पुँजीवादी र प्रतिक्रियावादीले जित्दै गए संविधान अझै प्रतिगामी हुँदै जाने खतरा रहेको उनको भनाइ छ ।

“संविधान पूर्ण छ भनेर कहिल्यै भनेका छैनौँ । यो सम्झौताकै दस्तावेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषता पनि छन् । थुप्रै समाजवादका विशेषता पनि छन् । समाजवादी धारा र प्रवृतिका पार्टीले जित्दै जाँदा संविधान समाजवादतिर अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीले जित्दै गए भने यो संविधान अझै प्रतिगामी हुँदै जाने खतरा छ ।”संविधानलाई प्रगतिशील धारामा अघि बढ्न एकताका साथ अघि जान जरुरी रहेको उनले बताए । समाजवादीलाई तीव्र गतिमा अघि बढाउन सक्ने देश नेपाल नै भएको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले समाजवाद सडकबाट नै जन्मने पनि बताए । “अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो । किनकि जनता सडकमै हुन्छ,” उनले भने, “सडकबाट जनताले जन्माउने हो समाजवाद । पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने हो ।” समाजवादको तयारी गर्न सरकार, संसद् र सडकबाट अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले अहिले मोर्चामा रहेका तीन दल सरकारमा रहेको र एक दल सडकमा रहेकाले यो सहकार्य आफैँमा मौलिक रहेको उनको भनाइ छ ।