फेरि मुख्यमन्त्री बन्न प्रयास गर्छु – सुरेन्द्रराज पाण्डे
२१ चैत पोखरा । पदबाट राजीनामा दिएर कामचलाउ बनेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू पनि मुख्यमन्त्रीको दौडमा रहेको बताएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले अरू दलहरू जस्तै आफूले पनि प्रयास गर्ने बताएका हुन् ।
राजीनामा दिएर उपधारा (३) अनुसार मुख्यमन्त्री बन्ने दाउ खोजेको प्रतिक्रिया आइरहँदा पाण्डेले भने, ‘ठुलो दल होइन, त्यो भन्दा पहिले नै मेरो काम सुरु हुन्छ । आजबाट राजीनामा दिएपछि सरकार बन्ने प्रक्रिया सुरु हुन्छ । प्रदेश प्रमुखबाट पुनः उपधारा (२) अनुसार नै सरकार बनाउन आह्वान हुन्छ होला, विगतको अभ्यास हेर्दा । मैले पनि दुई वा सो भन्दा बढी दलहरूको समर्थन प्राप्त गर्न सके भने यही प्रक्रियाबाट मुख्यमन्त्री हुन सक्छु । यदि मैले पुर्याउन सकिनँ र अरू कसैले पुर्याउन सक्यो भने उहाँहरू बन्नुहुन्छ । त्यो प्रक्रिया सकियो भने मात्रै (३) मा पुग्ने हो ।’
राप्रपाले निर्णय नलिँदासम्म कसैले पनि बहुमत पुर्याउन सक्ने अवस्था गण्डकीमा छैन । राप्रपाले २७ चैतसम्म कतै समर्थन नगर्ने बताइरहेको छ । राप्रपा सरकार निर्माणको प्रक्रियामा सामेल भएपछि आफूले पनि प्रयास गर्ने पाण्डेको भनाइ छ । ‘जब राप्रपा सरकार निर्माण प्रक्रियामा सामेल हुन थाल्नुभयो भने म पनि प्रक्रिया थाल्छु । क–कसलाई लिएर सरकार बनाउनुपर्छ म प्रयास गर्छु,’ उनले भने, ‘सरकार कुन उपधाराको बन्छ मलाई भन्दा प्रदेश प्रमुखलाई थाहा छ । विगतको प्राक्टिस हेर्दिनुस् भनेको छु ।’