मुख्यमन्त्रीमा दाबी पेस गर्दै नेता कँडेल
२२ चैत काठमाडौँ । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । राजकुमार शर्माले कर्णालीको मुख्यमन्त्रीबाट बुधबार दिएको राजीनामा स्वीकृत गरी कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि उनले दाबी पेसका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको आह्वानअनुसार आज नेता कँडेलले माओवादी केन्द्रको समर्थन लिएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले कर्णाली प्रदेशसभाका प्रमुख सचेतक टेकराज पछाईले जानकारी दिए । ‘माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेताको समर्थन लिएर आजै प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न जान्छौँ,’ उनले भने ।