माओवादीलाई साथ दिन सकिन्न , देवकोटा समाजवादीको सांसद हो – बाबुराम भट्टराई
२३ चैत काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशमा फणिन्द्र देवकोटा समाजवादी पार्टीको सांसद भएको बताएका छन्। २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावमा देवकोटा गोरखा क्षेत्र नम्बर २ को १ बाट निर्वाचित भएका थिए। समाजवादीका देवकोटाले माओवादीको चुनाव चिह्न लिएर उठेका थिए। ‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ ले दुईभन्दा बढी दलले एउटै साझा चुनाव चिह्न लिएर चुनाव लड्न सकिन्छ भन्ने प्रावधानअन्तर्गत गत निर्वाचनमा माओवादीको चिह्नलाई साझा चुनाव चिह्न बनाएको हो, समाजवादी माओवादीमा बिलिन भएको होइन,’ गोरखामा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘त्यस अर्थमा गण्डकी प्रदेशका हाम्रा सांसद फणिन्द्र देवकोटा नेपाल समाजवादी पार्टीकै सांसद हुनुहुन्छ।’
गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलनेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिइसकेका छन्। नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न चैत २७ गतेसम्मको समय छ। नयाँ मुख्यमन्त्रीमा कसलाई सहयोग गर्ने पार्टीले निर्णय गरिनसकेको भट्टराईले बताए।‘हामीलाई माओवादीले जुन ढंगले षड्यन्त्रमूलक ढंगले धोका दिएको छ। उसका गतिविधि अलोकतान्त्रिक र अनैतिक ढंगको देखिएका छन्। तत्काल नै उनीहरूलाई साथ दिन सक्ने अवस्था छैन,’ भट्टराईले भने, ‘तर अर्को पक्षसँग पनि मिल्छ/मिल्दैन टुंगो छैन। आवश्यकता हेरेर निर्णय गर्छौं।’ ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेस २७ सांसदसहित ठूलो दल छ भने एमालेका २२ सांसद छन्। देवकोटासहित माओवादीका ८ सांसद छन् भने राप्रपाका दुई र एकीकृत समाजवादी छाडेको घोषणा गरेका राजीब गुरूङ (दीपक मनाङ्गे) पनि सांसद छन्।
सरकार बनाउन ३१ सांसदको साथ चाहिन्छ। एमाले-माओवादी गठबन्धनलाई सरकार बनाउन राप्रपाको साथ चाहिन्छ। तर राप्रपाले एमाले-माओवादी गठबन्धनलाई समर्थन नगर्ने पदाधिकारी बैठकबाट निर्णय गरिसकेको छ। राप्रपाले साथ दिएको खण्डमा पनि नेसपाले साथ नदिने हो भने गण्डकीमा सरकार बनाउन गाह्रो पर्ने अवस्था नयाँ गठबन्धनलाई छ। यस्तो अवस्थामा एकीकृत समाजवादी छाडेको घोषणा गरेका सांसद गुरूङको साथ लिनुपर्ने हुन्छ।