प्रभु साहद्धारा तेस्रो जनआन्दोलनको घोषणा


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २४ २०८०
4.8K
SHARES

२४ चैत काठमाडौ । लोकतान्त्रिक व्यवस्थामा अहिलेका शासकहरुले बेइमानी गरेको आरोप लगाउँदै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले तेस्रो जनआन्दोलनको घोषणा गरेका छन्।शनिवार काठमाडौँमा जनआन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन्।

उनले पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको, दोस्रो जनआन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य गरेको भन्दै तेस्रो जनआन्दोलनले लुटकारी दलतन्त्रको अन्त्य गर्ने बताए।

उनले अहिलेका व्यवस्थालाई लुटकारी व्यवस्थाको संज्ञा दिँदै नेपालको समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी रहेकाले तेस्रो जनआन्दोलन शुरु गर्नुपरेको बताए। उनले अहिलेको पार्टी र नेताहरुले आफ्नो पुस्ताका लागि मात्रै काम गरिरहेको जिकिर गरे। लोकतान्त्रिक व्यवस्थामा अहिलेका शासकहरुले बेइमानी गरेको उनको ठहर छ।

‘पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको थियो। दोस्रो जनआन्दोलनले नेपालबाट निरंकुश राजतन्त्रको अन्त्य गर्‍यो, आज तेस्रो जनआन्दोलनको उद्घोष हो‚’ उनले भने‚ ‘नेपालमा लुटकारी जो दलतन्त्र छ, यसको अन्त्यको लागि आज उद्घोषको दिन हो। म यस सभामार्फत नयाँ तेस्रो जनआन्दोलनको उद्घोष गर्न चाहन्छु।’अध्यक्ष साहले नेपालमा शासकहरुले बनाएको माहोलले जनताहरु चिन्तित भएको बताए। उनले भविष्य के हुने हो भनेर जनता निराश रहेको बताए।