अर्थ मन्त्रालयको जिम्मेवारी उपप्रधान श्रेष्ठलाई
३ वैशाख काठमाडौ । अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा अर्थ मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुन अनन्तको अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्हाल्ने गरी तोकेका हुन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका छन् । मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्कने छन् ।
भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन् ।