सुरुवात मेरैबाट होस्, सबै नेताको सम्पत्ति छानबिन गरौं – डा. भट्टराई
८वैशाख काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभएको छ । अर्घाखाँचीको मालारानी–५ गुराँसेमा आयोजिक एक कार्यक्रममा डा. भट्टराईले नेताहरुको सम्पत्ति छानबिन गर्न पूर्वप्रधानमन्त्रीका हैसियतमा आफैंबाट सुरु गर्न तयार रहेको भन्दै सरकारलाई चुनौती दिनुभयो ।
उहाँले प्रचण्ड नेतृत्वको वर्तमान सरकार असफलताउन्मुख रहेको दाबी गर्दै राजनीतिक दलहरु स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार दिनप्रतिदिन मौलाएको टिप्पणी गर्नु भयो ।
‘वर्तमान सरकारसँग भ्रष्टाचारीलाई जेल हाल्ने तागत छैन,’ डा. भट्टराईको भनाइ थियो, ‘बाह्य लगानी घटेको छ, व्यापार घाटा बढेको छ, विकास खर्चसमेत लक्ष्यअनुसार भएको छैन । सरकार असफल भइसक्यो । त्यसैले वर्तमान सत्ता गठबन्धन पनि धेरै दिन टिक्न सक्दैन ।’ भट्टराईले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्नेभन्दा पनि आफ्ना नेतालाई जोगाउने र अरुसँग प्रतिशोध साँध्ने गरेको आरोप लगाउनु भयो ।