नेता शर्मा पतिपत्नी आज जसपा प्रवेश गर्दै
९ वैशाख काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका केन्द्रीय सदस्यद्वय रामकुमार शर्मा र इन्दु शर्मा आज जनता समजवादी पार्टी (जसपा) प्रवेश गर्दैछन्। शर्माद्वय पतिपत्नी हुन्। महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार दिउँसो हुने कार्यक्रममा जसपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उनीहरुले स्वागत गर्ने तयारी छ। जलेश्वर घर भएका रामकुमार विगत लामो समयदेखि माओवादी नेतृत्वसँग असन्तुष्ट थिए।
एक महिनाअघि मात्रै उनले माओवादी केन्द्र परित्याग गरेका थिए। ‘आज म जसपामा प्रवेश गर्दै छु,’ रामकुमार शर्माले भने, ‘जसपासँग मेरो ‘केमेस्ट्री’ पनि मिल्छ। तत्कालीन मधेसी जनअधिकार फोरममा उपेन्द्र (यादव)जी अध्यक्ष हुँदा म महासचिव थिएँ। उपेन्द्र जीलाई छाडेर माओवादी जनयुद्धमा लागेको म आज माओवादी छाडेर जसपामा जाँदै छु।’
धेसी जनअधिकार फोरम पार्टीका रूपमा दर्ता हुनुअघि गैरसरकारी संस्था (एनजीओ) थियो। ०७९ मा भएको आमनिर्वाचनमा माओवादीले दिएको टिकट पनि फिर्ता लिएपछि रामकुमार पार्टी नेतृत्वसँग असन्तुष्ट थिए। त्यतिबेलैदेखि उनको अध्यक्ष प्रचण्डसहितका नेताहरूसँग राम्रो सम्बन्ध थिएन। डेढ वर्षभन्दा लामो समयसम्म पार्टीमा निष्क्रिय बसेका रामकुमार आज औपचारिकरूपमा जसपामा प्रवेश गर्न लागेका हुन्। पार्टीले दिएको टिकट पनि खोसेपछि आगाे भएका शर्माले चुनावअघि नै नेकपा एमाले वा जसपा प्रवेशको तयारी गरेका थिए। त्यतिबेला उनले माओवादी छाड्ने घोषणा गरेका थिए।