जनजातिको छोरालाई संविधानसभाको अध्यक्ष कसले बनायो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १२ २०८१
7K
SHARES

१२ वैशाख इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, माओवादी केन्द्र नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ्ग विजयी हुने निश्चित भएको पाएको बताए । उनले इलामेली जनताको आत्मविश्वासले सुहाङ्गले जित्ने पक्का भएको बताए ।

उनले पहिचानका कुरा गरेर नेपाली समाजमा विभाजन ल्याउन थालेको बताए । उनले भने, ‘म जात जातीका कुरा गर्ने साथीहरूलाई भन्न चाहन्छु । एउटा जनजातिको छोरालाई कुन पार्टीले संविधान सभाको सभाध्यक्ष बनायो ? कुन पार्टीले जनजातिको छोरालाई कानुन मन्त्री बनायो ? दलितलाई राष्ट्रिय सभाको उपाध्यक्ष कसले बनायो ? पहिलो पटक महिलालाई रक्षा मन्त्री कसले बनायो ? थाहा हुनु पर्ने हो यो सब एमालेले बनाएको हो ।’

उनले अहिले दलित देखे दलितलाई भड्काउने, मधेश र पहाड भनेर झगडा लगाइदिने र राई र लिम्बुहरूकाबीचमा झगडा लगाउने काम अहिले भइरहेको बताए । उनले सबैको भाषा, संस्कार र संस्कृतीको रक्षा गर्न एमाले लागेको दाबी गरे । पहिलो कुरा राष्ट्रिय पहिचान बचाउनु पर्ने बताए । पहिचानको कुरा गरेर विद्वेष फैलाएर सही ठाउँमा पुग्न नसक्ने बताए । आफू र आफ्नो पार्टी पहिचान विरोधी नभएको बताए ।