हामी बूढाबूढीबीच मेलमिलाप भयो – रञ्जिता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख १५ २०८१
12.2K
SHARES

१५ वैशाख काठमाडौ । सत्तारुढ नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच ‘मेलमिलाप’ भएको छ।राजनीतिक मतभेदका कारण केही महिनादेखि एकअर्काको आलोचना गरिरहेका पति रेशम र पत्नी रञ्जिता त्यसयता पहिलोपटक शनिबार (वैशाख १५ गते) सँगै देखिएका हुन्।  आज (शनिबार) फेसबुकमा प्रोफाइल पिक्चरसमेत अपडेट गर्दै रञ्जिताले पति–पत्नीकै तस्बिर राखेकी छन्।

तपाईंहरूबीच राजनीतिक मेलमिलाप भएको हो भन्ने नेपालखबरको प्रश्नमा रञ्जिताले राजनीतिक कुरा जेजस्तो भए पनि ‘बूढाबूढीबीच मेलमिलाप’ भएको प्रतिक्रिया दिइन्।  उनले भनिन्, ‘हामी अहिले बालुवाटारमा सँगै छौँ, बूढाबूढीबीच मेलमिलाप भएको हो, खै राजनीति त के हो, हामीबीच मेलमिलाप भइराछ।’

त्यसो तर रञ्जिताले दम्पतीकै तस्बिर राख्दै फेसबुकमा लेखेकी छन्, ‘नागरिक उन्मुक्ति पार्टी जसको  हो, उसैको हो। कसैले धेरै खेल्न नखोजे हुन्छ। रेशम–रञ्जितातालाई छुटाएर कसैको केही हुँदैन।’

रेशम चौधरीले पनि  पत्नी रञ्जिताले आफूलाई ‘पार्टी र सरकार दुवै तिमी चलाऊ’ भनेर सहमति दिएको दाबी गरेका छन्। उनले सानो जमघटमा पति-पत्नी सँगै बसेका तस्बिर सेयर गर्दै फेसबुकमा पनि लेखेका छन्, ‘महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै तिमी चलाऊ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोस्ट गरेँ।’

साथै उनले अगाडि लेखेका छन्, ‘हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ।’ रेशमले दाबी गरेजस्तै श्रीमान्–श्रीमतीबीच ‘राजनीतिक मेलमिलाप’ पनि भएको हो भने वर्तमान सत्ता गठबन्धनमा उथलपुथल आउने सम्भावना देखिन्छ।

तर रेशम र रञ्जिताबीचको राजनीतिक विवाद यति गहिरिएको छ कि त्यो मुद्दा बनेर सर्वाेच्च अदालतसम्म पुगेको छ। उनीहरूले आफूहरूबीच ‘मेलमिलाप’ र ‘सहमति’ भएको दाबी गरे पनि अदालतमा भने अहिले पनि वादी–प्रतिवादी छन्।