गुन्डाबाट बचाउनुपर्यो विदेशी लगानीकर्ताले भनेका छन् – अध्यक्ष नेपाल
१७ वैशाख काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लगानी गर्न उत्साहित हुने वातावरण नभएको बताएका छन् । तेस्रो लगानी सम्मेलन जारी रहँदा उनले यस्तो टिप्पणी गरेका हुन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए । अनावश्यक पैसाको खर्च र गुन्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न इच्छुक रहेको विदेशी लगानीकर्ताले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाइ थियो ।
…मसँगै भनेका छन् कतिले– हामी नेपाललाई कुनै नोक्सान नहुने गरी, नोक्सान हामी व्यहोर्ने गरी हामी विभिन्न कारखाना खोल्न चाहन्छौँ । तर, हामीलाई गुन्डाबाट बचाउनुपर्यो । डनबाट जोगाउनुपर्यो । अनावश्यक पैसाको खर्च हुने कुराबाट जोगाउनुपर्यो । हामीलाई अरू किसिमको झन्झटबाट मुक्त गरिदिनुपर्यो,उनले भने ।