फुट्यो वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी
१८ वैशाख काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी फुटेको छ ।गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष बैशाख १८ गते भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता भंगको भएको हो ।
रिपोर्टर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य समरजंगले अब सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एकजुट हुन आवश्यक रहेको बताए ।
उनले अध्यक्ष वैद्यमाथि जनवादी केन्द्रीयताको उल्लंघन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पंगु बनाइएको आरोप लगाए ।पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विश्व साम्राज्यवादले सच्चा कम्युनिष्टहरुमाथि चौतर्फी हलमा गरिरहेको सन्दर्भमा सर्वशक्तिमान विचारको उच्चतम चरण माओवादलाई लत्याउँदै महान जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’, र उग्रवामपन्थी भड्कावको मिथ्या आरोप लगाउँदै जनयुद्धकालमा प्रतिकारमा संलग्न गुटहरुसँग गरिएको कथित पार्टी एकता हाम्रा लागि अस्वीकार्य छ ।’
उनले आन्दोलनका उपलब्धिहरुको रक्षा, समीक्षा र सच्चा क्रान्तिकारीहरुसँग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा नरहेको बताए ।पार्टी विभाजनको पक्षमा समरजंगसहित विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्टलगायत रहेका छन् ।

