छोरी भगाएर लगेपछि ज्वाईविरुद्ध बलात्कार मुद्दा
२० वैशाख काठमाडौ । सर्वोच्च अदालत बालविवाह गर्ने किशोरमा लाग्ने बलात्कार मुद्दाप्रति उदार देखिएको छ । उनीहरूलाई बलात्कारको मुद्दामा सजाय गर्नु उचित नहुने भनी व्याख्या गरेको छ ।
प्रेम सम्बन्धपछि नाबालिगलाई विवाह गरेका एक किशोरविरुद्ध बलात्कार मुद्दा परेको थियो । सो मुद्दामा सर्वोच्च अदालतले बलात्कारको साटो वैवाहिक बलात्कारमा सजाय हुने फैसला सुनाएको छ ।३ वर्षदेखि प्रेम गरेका पाँचथरका एक जोडीले २०६६ मा बिहे गरेका थिए । सो मुद्दा जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च पुगेर टुङ्गिएको हो ।
किशोरी केही दिन घरमा बसेर माइतीमा आइन् । छोरी माइतीमा फर्केको मौकामा परिवारले नाबालिग छोरीलाई बलात्कार गरेको भनी प्रहरीमा जाहेरी दिए । प्रहरीले पनि १४ वर्षीया किशोरीलाई बलात्कार गरेको भनी मुद्दा चलाएको थियो ।
सोही मुद्दामा अदालतले बलात्कार नहुने ठहर गरेको हो । आरोपीलाई कठोर सजाय गर्दा कानुनको उद्देश्य पूरा नहुने औँल्याएर वैवाहिक बलात्कारको सजाय ठहर गरेको छ । न्यायाधीशहरू प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासले हालै गरेको फैसलाको पूर्ण पाठमा यस्तो उल्लेख छ ।
फैसलाको पूर्णपाठ मङ्गलवार सार्वजनिक भएको छ । सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलामा भनिएको छ, ‘‘समान उमेर समूहका र केही निश्चित उमेरको अन्तरालमा मात्रै भएका बालबालिकाबीचको प्रेम सम्बन्ध र यौन चाहनाका कारण शारीरिक सम्पर्क हुने अवस्थालाई कानुनको यन्त्रवत व्याख्या गरी बालबालिकालाई सजाय निर्धारण गर्न नहुने ।’’