सुकुम्वासीलाई हेप्ने, तर्साउने र थर्काउने काम नगरौँ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २१ २०८१
3.5K
SHARES

२१ वैशाख काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् ।भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंमा आयोजना गरेको लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभाबी गर्न नमिल्ने उल्लेख गर्दै उनीहरूलाई आवासको व्यवस्था गर्न काठमाडौं महानगरपालिकालाई सुझाव दिए । काठमाडौं महानगरपालिकाले लालपूर्जा नभएको भन्दै सुकुम्वासी वस्तिहरू डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र शाहले निरन्तरता दिइरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान शुरु गर्नुपर्ने बताए ।उनले मेयर शाहलाई सुकुम्वासीमाथि ज्यादती नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरूलाई हेप्ने ? भनी प्रश्न पनि गरे । सुकुम्वासीहरूको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाई थियो । उनले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भीरतापूर्वक छलफल गरिरहेको पनि बताए ।

अध्यक्ष ओलीले सुकुम्वासीमाथि ज्यादती नगर्न पनि पटक पटक आग्रह गरे । त्यस अवसरमा उनले सुकुम्वासी समस्या समाधानमा आफूले सरकारमा रहँदा काम गरे पनि हटेपछि अघि बढ्न नसकेको जिकिर पनि गरे ।
ओलीको भनाई जस्ताको त्यस्तै

सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । मान्छे भोकै नपरुन्, भोकले कोही नमरुन् । त्यसै कारण म पहिलो पटक प्रधानमन्त्री हुँदा मैले भने–नेपाल जस्तो देशमा अव मान्छे भोकै पर्दैन, भोकले मर्दैन । सरकार छ, त्यो हुन दिइँदैन भनेर भने मैले । अलि पछाडि म हटाइए । फेरि त्यो अभियान रोकियो । अर्को पटक म प्रधानमन्त्री हुँदा फेरि मैले त्यो कुरालाई अघि बढाए । हामीले सडक बालबालिकालाई उठायौँ । हाम्रा छोराछोरी खाते हुन सक्दैनन् ।

भविष्यमा राष्ट्रपति हुन्छ कि के हुन्छ ? त्यस्तो मान्छेलाई खाते बनाएर सडकमा छोड्ने हामीले ? भोलि प्रधानमन्त्री हुन्छ कि के हुन्छ ? त्यस्तोलाई अवसर नै नदिएर सडकमा भोक भोकै तड्पाएर, गल्लीमा सुत्ने बनाएर छोड्ने हामीले ? अनि फेरि हामी सरकार चलाउँछौं ? हामी सरकार हौँ भनेर बस्छौँ । यस्तो हुँदैन । सडकमा मान्छे अलपत्र छ ।

अलपत्रलाई हेर्ने, बुढाबुढी अलपत्र छन् भने उनीहरूलाई हेर्ने त्यो व्यवस्था गर्नुपर्छ । ज्येष्ठ नागरिकहरू अलपत्र नपरून् भनेर हामीले भत्ताको व्यवस्था गरेको हो । सडकमा अलपत्र मानिसहरूलाई विभिन्न गैरसरकारी संस्थाहरूसँग मिलेर हामीले सडकबाट उठाउने काम गर्‍यौं । र उनीहरूको व्यवस्था गर्ने काम गर्‍यौँ । अलपत्र अनाथ बालबालिकाहरू, उनीहरूलाई सडकबाट उठाउने र शिक्षाको प्रबन्ध गर्ने काम गर्‍यौँ ।

सुकुम्वासी समस्या समाधानका लागि आयोग बनाएर यो समस्या समाधान गर्ने बिन्दुमा पुग्यो भन्दा सरकार ढालियो । अहिले हामी सरकारमा आयौ । अगाडि बढाउन खोज्यौँ कर्मचारीतन्त्रमा रहेका केही व्यक्तिहरू त्यसको बाधक बनेर उभिन खोजेका छन् । अदालत राम्ररी विषयको अध्ययन नगरीकन कतिपय प्रश्नहरूमा फैसला गरिदिने अवस्था देखिन्छ । देशप्रति, देशका जनताप्रति, देशले भोगिरहेका समस्याप्रति, जनताले भोगिरहेका समस्याप्रति जिम्मेवार हुन्, गम्भीर हुन म सबैलाई आग्रह गर्न चाहन्छु ।

सुकुम्वासी बस्ती हटाउनु मात्रै होइन, जथाभाबी गर्ने हो भने त के भयो र । सुकुम्वासीहरुलाई लखेटी दिए भयो । मारिदिए भयो । जे पनि गर्ने हो भने । तर जे पनि गर्न मिल्दैन लोकतन्त्रमा । त्यसको व्यवस्थापन गर्नुपर्छ । समस्या समाधान गर्नुपर्छ । जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊ, नखाए मर भन्ने सरकार हुँदैन । त्यो केन्द्रीय सरकार होस कि, प्रदेश सरकार होस कि, स्थानीय सरकार । जनताप्रति उत्तरदायित्व नलिने, अनुत्तरदायी, गरिब भनेको देख्न नसक्ने, सुकुम्वासी देख्नै नहुने, अनि मैले पोहोर, परारको साल पनि भनेको थिएँ–सुकुम्वासीका प्लास्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर ।

सुकुम्वासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कला फाँड्न बन्चरो लिएर जाने ? सुकुम्वासीको समस्या समाधान गर्नुपर्‍यो । डोजर देखाउने होइन सुकुम्वासीलाई । डोजर गरिबले नै चलाउने हुन् । कुनै धनीले, पुँजीपतिले डोजर चलाएको थाहा छैन ।

गरिवका छोरोले डोजर चलाउने हो । तिनलाई आफ्नै विरुद्ध डोजर चलाउन नलगाउनुस् । गरिब बस्तीका विरुद्ध एउटा गरिबकै छोराछोरीलाई डोजरको टाउकामा बसेर गरिबकै बस्ती भत्काउन, गरिबकै छाप्रा भत्काउन नलगाऔँ । व्यवस्थापन गरौँ । केही व्यवस्थापन गरौँ । यत्रो देशमा यति जनता व्यवस्थापन गर्न पुग्ने जमिन छ, ठाउँ छ । अवसर छ । ती चिजहरू गरौँ । नगरपालिकासँग यति धेरै पैसा छन् भने सुकुम्वासी बस्तीको एउटा छेउमा घरहरू बनाई दिऊँ न त ४÷५ तले घर लस्करै बनाई दिऊँ । ४८ सय परिवार रहेछ । उपत्यकाको कुरा गर्दै छु ।

४८ सय मान्छेको परिवार भनेको एउटा किचन, एउटा बाथरुम, दुई वटा, तीन वटा कोठा छुट्टयाएको एउटा सानो फ्ल्याट भए त पुग्छ त । त्यत्तिका दरले बनाई दिन सक्दै नसक्ने कुरा होइन । योजनाबद्ध ढंगले बनाई दिउन् । आवासको समस्या समाधान भयो । कमसेकम निर्माणका लागि चलाउन अभियान । भत्काउने अभियान होइन, बनाउने अभियान चलाउन । सुकुम्वासीहरूको बस्ती बनाऔँ । फोहोर ठाउँहरूलाई सफा बनाऔँ । रोजगारीको अवसरहरू सृजना गरौँ । व्यवसाय शुरु गर्नका लागि केही पैसाको व्यवस्था गरौँ ।

म सरकारसँग यही विषयमा अहिले गम्भीरताका साथ कुरा गरिरहेको छु । अहिले हाम्रो पार्टी पनि सरकारमा छ । यो पार्टी सरकारमा गएको कुनै कानमा कुण्डल झुन्ड्याउन होइन । जनताको काम गर्न गएको हो । त्यस कारण अहिले हामी प्रयास अगाडि बढाउँदै छौँ । म यहाँहरूलाई आग्रह गर्न चाहन्छु– समस्या समाधानमा सुकुम्वासी कहिल्यै पनि बाधक हुँदैन । सुकुम्वासी माथि ज्यादती गर्‍यो भने अनि सुकुम्वासीहरू त्यसको प्रतिरोधमा उत्रिन्छन् ।

त्यस कारण ज्यादती सुकुम्वासीमाथि नगरौँ । कहीँ हेप्ने मानिस भेटिएन । अनि, सुकुम्वासीलाई हेप्ने ? कहीँ हेप्ने मानिस भेटिएन, थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्वासीको लालाबाला तर्साएर कुन बहादुर हुन्छ ? त्यस कारण त्यतातिर होइन, समस्या समाधानतर्फ लागौँ । कसरी हुन सक्छ ? त्यतापट्टि लागौँ । नक्कली सुकुम्वासी सुकुम्वासी मान्नुपर्छ भन्ने छैन । यो चाहिँ नक्कली सुकुम्वासी हो भनेर किटान गरिदिऊ ।

नक्कली सुकुम्वासी छन्, त्यहाँ छोराछोरी डाक्टर भएका छन्, इन्जिनियर । डाक्टरमा आमाबुबा सुकुम्वासी हुन्छ ? भन्ने । अनि सुकुम्वासी हुँदा बच्चा जन्मिँदैन ? बच्चा जन्मेपछि पढ्दैन ? गाउँको स्कुलमा पढेर डाक्टर, इन्जिनियर हुँदैन ? सुकुम्वासी हुँदाहुँदै डाक्टर, इन्जिनियर भयो । अब उसले घर बनाउन त सकेको छैन ।

त्यस कारण डाक्टर, इन्जिनियर भयो । बनिबुथो गरेर भयो । भर्खर जागिर खाँदै छ । अब पछि बनौला । तर अहिले तत्काल ती सुकुम्वासी बस्तीमै बस्छ । ए डाक्टरका बाबुआमा रहेछन्, इन्जियरका बाबुआमा रहेछन् । पढिहाल्छन् नि । यसमा हामीले धन्यवाद भन्नुपर्छ कि सुकुम्वासी भएर पनि छोराछोरीलाई दुःख गरेर भए पनि डाक्टर, इन्जिनियर पढाएछन् भनेर धन्यवाद दिनुपर्छ ।