सरकार आगामी बजेटको तयारी अन्तिममा – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २३ २०८१
3K
SHARES

२३ वैशाख काठमाडौ । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याइएको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसको अवसरमा अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सरकार आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको जानकारी दिए । उनले बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको बताए ।

‘सरकार अर्को वर्षको नीति, कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटिरहेको छ । त्यसैगरी बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा गएको छ,’ प्रचण्डले भने ।प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्रीले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरू सम्बोधन गर्ने आश्वासन दिए । आमनागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने उनको विश्वास थियो ।

वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पुर्‍याउने सरकारको अपेक्षा रहेको प्रचण्डले बताए । देशलाई आवश्यक एमबीबीएसलगायतका दक्ष जनशक्ति उत्पादन गर्न प्रतिष्‍ठानबाट आगामी आर्थिक वर्षमा भरतपुर अस्पताल र वीर अस्पतालमा उक्त कार्यक्रम सुरू गरिने उनको भनाइ छ ।

वीर अस्पतालको बिस्तारका लागि दुवाकोटको १५ सय बेडसहितको अस्पताल बनाउने गुरुयोजनामा पहिलो चरणको ५ सय बेडको अस्पताल र मेडिकल कलेजको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाइ छ ।चिकित्सा विज्ञान राष्‍ट्रिय प्रतिष्‍ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकुल बनाउँदै स्तरोन्नति गरी अन्तर्राष्‍ट्रियस्तरको बनाइने प्रचण्डको भनाइ छ ।