कर्जामा एनआईसी एशिया बैंकले ल्यायो छुट योजना


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २५ २०८१
2.6K
SHARES

२५ वैशाख काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउन बैंकले यस्तो योजना सार्वजनिक गरेको हो ।

गत चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट हुनेछ । साधारण बक्यौता ब्याज रकममा छुट प्रदान गर्ने योजना ल्याएको छ । बैंकका अनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेका भए १५ प्रतिशत छुट हुनेछ भने १८१ दिनदेखि ३६५ दिन भाखा नाघेको समयावधि छ भने उसले २५ प्रतिशत छुट पाउने छ । यसका साथै ३६५ दिनभन्दा बढी भाखा नाघेका ऋणीले ३५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने जनाएको छ ।