अनुचित लेनदेनविरुद्ध उजुरी दिने म्याद थप
३२ जेठ काठमाडौँ । अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन दिने म्याद थप गरेको छ । यसअघि दिएको समयमा सबै मीटरब्याज पीडितले निवेदन दिन नसकेको गुनासो बढेपछि आयोगले १५ दिनको म्याद थपेको हो । आज सूचना जारी गर्दै आयोगले तोकिएको समयभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन भनेको छ । ‘आफूसँग रहे भएसम्मका त्यस्तो ऋण–कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भर्पाइ, टिपोट, शर्तनामा वा सम्झौतालगायत जो भएका लिखतहरुको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी म्याद थपसम्बन्धी यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र पीडित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा सो निवेदन फाराम दर्ता गरिदिनुहुन…’, सूचनामा उल्लेख छ ।
आयोगका अनुसार पीडितहरुले भर्नुपर्ने निवेदन फाराम गृह मन्त्रालयको बेभसाइटमा राखिएको छ । त्यहाँबाट फाराम डाउनलोड गरेर सिडियो कार्यालयमा दर्ता गराउनुपर्नेछ । आयोगले गत जेठ ११ गते प्रथम पटक सूचना प्रकाशित गरेर २१ दिनभित्र निवेदन दिन भनेको थियो ।