१ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना प्रहरीद्वारा सार्वजनिक
२ असार काठमाडौं । बचतकर्ताको रकम अपचनको आरोपमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उपत्यका अपराध महाशाखाको टोलीले उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ललितपुरको कुमारीपाटीमा रहेको यो सहकारीको नाम संसदीय छानबिन गर्न बनेको समितिको कार्यादेश (टीओआर) मा पनि उल्लेख गरिएको छ । समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २९ सहकारी संस्थाको सूचीमा उक्त सहकारीको नाम रहेको छ ।
५६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । २ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् । अध्यक्ष तेजविक्रम थापा नेपाली कांग्रेस तनहुँका नेतासमेत हुन् ।
बचतकर्ताबाट आकर्षक ब्याज दिने भन्दै पैसा असुलेर नफर्काएपछि उनीहरूले दिएको उजुरीको आधारमा सहकारी विभागको पत्रको आधारमा उनीहरूलाई शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।