महासंघको विधान कार्यसमितिबाट सर्वसम्मत पारित, अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २६ २०८१
2.2K
SHARES

२५ असार काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान थियो ।

सो विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेपछि अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष नै निर्वाचनबाट चयन हुने भएको जानकारी दिए ।

उनले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भएपनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए । यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष भएपछिको अर्काे एक कार्यकालपछि लागू हुने बताइएको छ । संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने महासंघले जनाएको छ ।