सेयरबजार ‘करेक्सन’


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २२ २०८१
2K
SHARES

२२ साउन काठमाडौं । सेयरबजारमा व्यापक ‘करेक्सन’ देखिएको छ। मंगलबार सेयरबजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा थामिएको छ। कारोबारमा भने नयाँ कीर्तिमान कायम भएको छ। आज एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको हो। यो हालसम्मकै उच्च कारोबार हो। ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर बिक्रीमा उक्त रेकर्ड बनेको हो।

यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई यही साउन १६ गतेको २१ अर्ब ९१ करोडको कारोबारले उछिन्दै रेकर्ड बनाएकोमा आज त्योभन्दा पनि बढीको कारोबार भएको हो।

आज ८ वटा कम्पनीको सेयर मात्रै बढेको थियो। बाँकीमध्ये २३३ कम्पनीको सेयर मूल्य घट्दा एउटाको मात्रै अघिल्लो मूल्यमै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

८ मध्ये थ्रीस्टार हाइड्रोपावरको १० प्रतिशत, कुथेली बुखारी स्मल हाइड्रोको ९.९७ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड २ को ३.९४ प्रतिशत, मेगा म्युचुअल फन्ड १ को ३.८१ प्रतिशत, रुरु जलविद्युत्को ३.१६ प्रतिशतले सेयर बढेको छ।

७ कम्पनीको सेयर १० प्रतिशतले घट्यो
यसैबीच आजको सेयर कारोबारमा व्यापक करेक्सन आउनेक्रममा सातवटा कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ।

नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, शुभम् पावर, हाथवे इन्भेस्टमेन्टको सेयर १० प्रतिशतले घटेको हो। यी कम्पनीका लगानीकर्ताले क्रमशः आज १९३.८०, ८८, ६४.५०, ३१.८०, १०९.९०, ८९.६०, १७८.१० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।

बाँकी १४ कम्पनीको सेयर ९ प्रतिशतले, ११ कम्पनीको ८ प्रतिशतले र दुई दर्जन बढी कम्पनीको ७ प्रतिशतले सेयर मूल्य घटेको छ।