८५ जनासँग झन्डै दुई करोड उठाएर फरार गुनेश


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २३ २०८१
2K
SHARES

२३ साउन काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीको नाममा झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने सिराहाको कर्जन्हा नगरपालिका–६ बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुर छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुनेशले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभन देखाई ८५ जना पीडितहरूबाट एक करोड ९७ लाख १७ हजार रूपैयाँ उठाई ठगी गरेका थिए ।  काठमाडौंको बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशमा पठाइदिन्छु भनी पीडितहरूबाट उक्त रकम उठाएको प्रहरीको भनाइ छ ।

पीडितबाट पैसा उठाएपछि गुनेश सम्पर्कविहीन भएका थिए । पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।