विद्युतीय मुद्राको नमुना राष्ट्र बैंकले बनायो


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २७ २०८१
1.9K
SHARES

२७ साउन काठमाडौं । केन्द्रीय बैंकले विद्युतीय मुद्राको नमुना तयार गरेको छ । सीबीडीसीसम्बन्धी सरोकारवालासँगको छलफलमा राष्ट्र बैंकको सीबीडीसी महाशाखाका प्रमुख कृष्णराम धुँजूले अब यही प्रोटोटाइप परिमार्जन गर्दै सीबीडीसीलाई सीमित विशेषतासहितको प्रारम्भिक संस्करणका रूपमा विकास गरिने जानकारी गराए ।

छलफलमा धुँजूले सीबीडीसी प्रणालीको इन्टरफेस (डिजिटल आवरण) पहिलो पटक सार्वजनिक गरेका थिए । राष्ट्र बैंकले जारी गर्ने सीबीडीसीको नाम तय भइसकेको छैन । सीबीडीसी प्रणालीको प्रोटोटाइप इन्टरमिडिएटरी आर्किटेक्चर अर्थात् राष्ट्र बैंकले सिँधै प्रयोगकर्तालाई डिजिटल मुद्रा उपलब्ध गराउने नभई बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराउने मोडलमा विकास गरिएको छ ।

यस्ता मुद्रामा ब्याज प्राप्त नहुने र सुरुवाती चरणमा सामान्य कारोबारका लागि प्रयोगमा ल्याइने राष्ट्र बैंकको योजना छ । बैंकले २०२६ को अगस्टमा बैंकिङ संस्थाहरूबीच रकम भुक्तानी, धितोपत्र कारोबार प्रयोजनका लागि होलसेल सीबीडीसीको पाइलट परीक्षण कार्यान्वयनमा ल्याउने गरी तयारी अघि बढाएको छ ।

सीबीडीसी विकास गर्न राष्ट्र बैंकले केन्द्रीय बैंकहरूको अन्तर्राष्ट्रिय संस्था बैंक फर इन्टरनेसनल सेटलमेन्ट (बीआईएस) को हङकङस्थित इन्नोभेसन हबले शुरु गरेको ‘एमब्रिज’ परियोजनामा अवलोकनकर्ताको सदस्यता लिएको छ ।

बीआईएस इन्नोभेसन हबले हङकङ मनिटरी अथोरिटी र हङकङ अप्लाइड साइन्स एन्ड टेक्नोलोजी रिसर्च इन्स्टिच्युटसँगको सहकार्यमा तयार पारेको रिटेल सीबीडीसी ‘औरम’ प्रोटोटाइपको कोडबेस (सफ्टवेयर विकास गर्न प्रयोग गरिने कोडहरू) पनि गत वर्ष अगस्टमै प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ ।