८१ वर्षीय रामप्रसादले लोकेन्द्रलाई ५८ लाख रुपैयाँ ठगे…


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २८ २०८१
2.4K
SHARES

२८ साउन काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–२ का रामप्रसाद पौडेल ८१ वर्षको उमेरका जेल पुगे । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले पौडेललाई गत साउन १८ मा पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले पक्राउ गरेको दोस्रो दिनमा नख्खु कारागार पठाएको हो । पाँच वर्षदेखि फरार पौडेललाई प्रहरीको टोलीले ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको थियो । पौडेललाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७७ मंसिरमा दोषी ठहर गर्दै जेल सजायको फैसला सुनाएको थियो ।

तत्कालीन उच्च अदालतका न्यायाधीश लोहितचन्द शाह र ईश्वरराज आचार्यको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गर्दै सात दिन जेल सजाय हुने फैसला गरेको थियो । तर, पौडेल भने त्यतिबेलादेखि भाग्दै आएका थिए । साउन १८ गते भने उनी झम्सिखेलको विगमार्टबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार उच्च अदालतको फैसला लगत्तै उनी महालक्ष्मीको घर छाडेर छोरी ज्वाइँको घर झम्सिखेल बस्दै आएका थिए ।

त्यही सूचनाका आधारमा अदालतले दोषी ठहर गरेको पाँच वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

५८ लाख रुपैयाँ लिएर फिर्ता दिएनन्
प्रहरीका अनुसार रामप्रसादले २०७५ मा काठमाडौंको टोखा नगरपालिका–१० का ५८ वर्षीय लोकेन्द्रनारायण श्रेष्ठबाट ५८ लाख २१ हजार रुपैयाँ क्रण मागेका थिए उनकै साथीमार्फत् चिनजान हुन पुगेका पौडेलले विश्वासमा पारेर लोकेन्द्रबाट उक्त रकम लिएका थिए । तर, रकम लिएपछि भने पौडेलले फिर्ता गर्न खोजेनन् । उल्टै लोकेन्द्रको सम्पर्कबाट भाग्न थाले ।

०७५ वैशाख ३० मा भेटिएका पौडेलले आफूसँग ‘क्यास’ रकम नभएको भन्दै आफ्नो खाता रहेको सनराइज बैंकको चेक दिए । त्यहीबेला पौडेलले ५८ लाख २१ हजारको छुट्टाछुट्टै दुई वटा चेक थमाइदिएका थिए । तर, उक्त चेक साटिएन । लोकेन्द्रले बारम्बार चेक नसाटिएको जानकारी गराए । तर, उनी सम्पर्कविहीन हुन पुगे ।

लोकेन्द्रले आफ्नो रकम फिर्ता नपाएपछि भने अदालत गुहार्न बाध्य भए । अदालतले ५८ लाख २१ हजार नै पीडितलाई भराउने र त्यही बराबरको जरिवाना समेत गरेको छ ।

त्यस्तै, दुई लाख ३२ हजार ८४० रुपैयाँ समेत क्षतिपूर्ति भराउने फैसला गरेको थियो । सात दिनको कैद सजाय काटे पनि जरिवाना रकम र बिगो तिर्न नसक्दा उनी जेलमा बस्नु परेको हो ।