बढेन गाडी कर्जाको माग, २२%ले घट्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ५ २०८१
1.6K
SHARES

५ भदौ काठमाडौं । पछिल्लो समय नेपालमा नयाँ–नयाँ ब्रन्डाका गाडीमा ग्राहकको रुचि बढेको पाइन्छ। विद्युतीय गाडी (ईभी) किन्नेको लहड पनि उत्तिकै देखिन्छ। गाडी कर्जामा बैंकहरुले विभिन्न स्किम पनि ल्याएका छन्। कतिपय बैंकहरुले स्थिर एवं सिंगल डिजिटको ब्याजदरमै गाडी कर्जा प्रदान गरिरहेका छन्।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने गाडी कर्जाको माग अझै बढ्न नसकेको देखाएको छ। तथ्यांकअनुसार आर्थिक वर्ष २०८०।८१ मा गाडी कर्जाको माग २२ प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँबराबरको गाडी कर्जा बैंकहरुबाट गएको देखिन्छ। अघिल्लो वर्ष बैंकहरुबाट १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो। यो हिसाबले गाडी कर्जा २२ प्रतिशतले घटेको छ।तथ्यांकअनुसार व्यावसायिक प्रयोजनका लागि लिइने गाडी कर्जाको माग घटेको छ भने व्यक्ति प्रयोजनका लागि लिइने गाडी कर्जाको माग भने सामान्य बढेको छ।समीक्षा वर्षमा बैंकहरुबाट व्यावसायिक गाडी कर्जा ८७ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको छ। अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब २२ अर्ब ४८ करोड रुपैयाँ थियो। व्यावसायिक गाडी कर्जाको माग २८.८ प्रतिशतले घटेको छ।

यसैगरी व्यक्तिगत प्रयोजनका लागि लिइएको गाडी कर्जा ३६ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकहरुबाट ३६ अर्ब ७१ करोड रुपैयाँ व्यक्तिगत गाडी कर्जा प्रवाह भएको थियो। व्यक्तिगत गाडी कर्जा ०.३ प्रतिशतले बढेको छ।