एनएमबि खेती कर्जाका लागि बागमती गाउँपालिकासँग सम्झौता
७ असोज काठमाडौं । एनएमबि बैंक, डीभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुरबीच गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डीभी एक्सेलसका तर्फबाट सहसंस्थापक न्युराज कार्की र गाउँपालिकाका तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन्।
एनएमबि बैंक र डीभी एक्सेलसबीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई पूर्ण रुपमा डिजिटल कर्जा प्रदान गर्नका लागि सम्झौता भएबमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेकोमा बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई यस डिजिटल कर्जामार्फत उनीहरुलाई कर्जा लगानी सहज बनाएर कृषकहरुको आर्थिक अवस्था वृद्धि गर्नका लागि तीनैवटा संस्था मिली वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरुलाई कर्जा कर्जाका लागि सहजीकरण गर्ने, ऋणीहरुलाई अन्य विभिन्न खालका परामर्श सेवाहरु प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्नेजस्ता विषयहरुमा सहमति भएको छ।