नेपालको अर्थतन्त्रमा सुधारको संकेत – आईएमएफ


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ९ २०८१
2.2K
SHARES

९ असोज काठमाडौं। नेपालमा इसिएफ कार्यान्वयनका लागि आईएमएफले राखेको एउटा महत्त्वपूर्ण शर्तमध्ये १० वटा ठूला वाणिज्य बैंकहरूको कर्जा ‘पोर्टफोलिया’ समीक्षा (क्रेडिट पोर्टफोलिया रिभ्यु–सिपिआर) पनि एउटा हो ।

नेपाल राष्ट्र बैंकले सिपिआर प्रक्रिया अघि बढाउन प्रस्ताव आह्वान गरेको भए पनि आर्थिक तथा प्राविधिक मूल्यांकनपछि कुनैपनि कम्पनी योग्य नदेखिएको भन्दै यो प्रक्रिया रद्द भएको छ ।

राष्ट्र बैंकले यो प्रक्रिया पुनः प्रस्ताव आह्वान प्रक्रिया अघि बढाएको छ । तर आईएमएफले भने ठूला बैंकहरूको ‘सिपिआर’ आवश्यक रहेको बताएको छ ।

‘बैंकहरूले बढ्दो खराब कर्जा र पुँजी व्यवस्थापनमा समस्या भोगिरहेको अवस्थामा निरन्तर निगरानी आवश्यक छ । बैंक तथा वित्तीय संस्थाको नियमनलाई अझ सुदृढ बनाउन र ठूला १० वाणिज्य बैंकको ऋण पोर्टफोलियोको समीक्षा पूरा गर्नु महत्त्वपूर्ण छ,’ आईएमएफले विज्ञप्तिमा भनेको छ ।

बचत र ऋण सहकारी संस्थामा रहेका समस्या समाधानलाई प्राथमिकतामा राख्न आईएमएफले सुझाव दिएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन संशोधन हुनु सकारात्मक रहेको उल्लेख गर्दै आईएमएफले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन, राष्ट्र बैंकको बाह्य लेखापरीक्षण, र सार्वजनिक संस्थानको पारदर्शीता बढाउनुपर्नेमा जोड दिएको छ । आईएमएफ ईसिएफको पाचौँ किस्ता निकाशाका लागि समीक्षाको चरणमा छ ।

आईएमएफ टोलीले नेपालमा रहँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीलगायत उच्चपदस्थ अधिकारी र राष्ट्र बैंकका अधिकारीसँग भेटघाट र छलफल गरेको थियो । त्यस्तै निजी क्षेत्रका प्रतिनिधि र विकाश साझेदारसँग पनि आईएमएफ टोलीले छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।