दशैंमा पनि सुनसान बैंकहरु
२० असोज काठमाडौं।बढ्दो मोवाइल बैंकिङ कारोबारसँगै पछिल्लो समय नगद प्रवाह घटेको छ भने दशैंको समयमा पनि बैंकहरु सुनसान हुन थालेका छन् । दशैंको बेलामा भिडभाड हुने बैंकहरु मोवाइल बैंकिङ लगायत डिजिटल कारोबारका कारण सेवाग्राहीको भिड घटेको हो ।
मोबाइल बैंकिङ प्रयोगकर्ता बढ्दो
राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको खाता संख्या २ करोड ४९ लाख ६१ हजार नाघेको छ । जसबाट ४ करोड ७४ लाख ६० हजार हाराहारी पटक कारोबार भएको छ । यस्तै, कनेक्ट आईपीएसका प्रयोगकर्ता १२ लाख ९९ हजार प्रयोगकर्ता पुगेका छन् । यसबाहेक, क्यूआर कोडमार्फत ट्रान्जेक्सन, इन्टरनेट बैंकिङ, वालेटलगायतका डिजिटलहरूका प्रयोगकर्ताहरू बढ्ने क्रममा छन् । सोही अनुसार कारोबार पनि बढिरहेको केन्द्रीय बैंकको तथ्यांकमा देखिन्छ ।
नगद कारोबार घट्यो
बढ्दो डिजिटल कारोबारसँगै नगर कारोबार पनि घट्न पुगेको छ । चालु आर्थिक वर्षको भदौमा बजारमा क्यास सर्कुलेशन (नगद प्रवाह) केहीँ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा पछिल्लो भदौमा क्यास सर्कुलेशन १४ अर्ब ७१ करोड ७८ लाख रुपैयाँले घट्न पुगेको थियो ।
२०८१ असार मसान्तमा बजारमा कूल नगद प्रवाह ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ रहेको थियो । तर, पछिल्लो भदौ मसान्तसम्ममा उक्त नगद प्रवाह घटेर ६ खर्ब ६५ अर्ब ३३ करोड ९ लाख रुपैयाँमा झरेको हो । यसको मतलब पछिल्लो दुई महिनामा बजारबाट १४ अर्ब बढी नगद केन्द्रीय बैंक फर्किएको छ ।
राष्ट्र बैंकका अनुसार डिजिटल कारोबारलाई प्रोत्साहन गरेका कारणले पनि नगद कारोबार तुलनात्मक रूपमा कम हुन गएको हो । पछिल्लो समय क्यूआर (क्विक रेस्पोन्स)कोडमार्फत ट्रान्जेक्सन गतवर्षको भन्दा १०८ प्रतिशतले बढेको छ । बैंकिङ प्रणालीमा कारोबार गर्ने शैली डिजिटाइज हुँदै गएको छ । यसकारण पछिल्लो समय चलनचल्तीमा नोटहरू कम हुनुको एउटा कारण विद्युतीय कारोबारको भूमिका पनि ठूलो भएर हो ।