पुण्य गौतममाथि आक्रमणमा गर्नेहरु पुर्पक्षका लागि थुनामा
२१ कार्तिक काठमाडौं । जिल्ला अदालत काठमाडौंले सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् ।
गत असोज २१ गते राति गौतममाथि उनको घर नजिक रड प्रहार भएको थियो । सख्त घाइते अवस्थामा उनलाई छिमेकीले उद्धार गरेका थिए । उपचारपश्चात उनको अवस्था सुधारोन्मुख छ ।
सो घटनामा प्रहरीले काभ्रेपलान्चोक तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने सञ्जिव र रसुवा नवकुण्ड गाउँपालिका-५ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने मिलनलाई असोज २४ गते पक्राउ गरेको थियो । उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको छ । मिलन लामा दुर्गा प्रसाईंले चलाएको अभियानका प्रतिरक्षा कमान्डर हुन् ।
पुर्पक्षका लागि आज भएको बहसमा गौतमका तर्फबाट वरिष्ठ अधिवक्ता उद्धव चौलागाईं र सरकारी वकिल सीताराम अर्यालले बहस गरेका थिए ।प्रतिवादीका तर्फबाट अधिवक्ता टंक दुलालले बहस गरेका थिए ।