बैंकहरूले ब्याजदर घटाउदै
२२ कार्तिक काठमाडौं । लगातार ओरालो लागेको बैंकहरूको ब्याजदर मंसिरमा पनि घट्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) पर्याप्त भएपछि बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाउन लागेका हुन् ।
कात्तिकका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर ६.१९ प्रतिशत छ । राष्ट्र बैंकको नीति अनुसार, वाणिज्य बैंकहरूले हालको ब्याजदरमा आगामी महिना १० प्रतिशत थप गर्न वा घटाउन सक्छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार, कात्तिक २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ६६ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ५२ खर्ब ७६ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।
बैंकबाट ऋण लगानी बढ्न नसकेपछि आगामी महिना बैंकहरू ब्याजदर घटाउन बाध्य हुने उनको भनाइ छ । तर, राष्ट्र बैंकको ब्याजदर करिडोरका कारण बैंकको ब्याजदर तीन प्रतिशतभन्दा तल नझर्ने उनी बताउँछन् ।
दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउन अल्पकालीन ब्याजदर अर्थात् अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न राष्ट्र बैंकले अपनाएको विधिलाई ब्याजदर करिडोर भनिन्छ ।
यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गित गर्ने गर्दछ । स्थायी तरलता सुविधा उपलब्ध हुने दरले माथिल्लो सीमा र निक्षेप संकलन दरले तल्लो सीमाको रूपमा काम गर्छ । यी दरहरू मौद्रिक नीतिले आवश्यकता हेरेर समयसमयमा परिवर्तन गर्ने राष्ट्र बैंकले जनाएको छ ।