निर्मला हत्याकाण्ड : अर्याल पक्राउ, धमलासँग सोधपुछ
२८ कार्तिक काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण देखेको दाबी गरेका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको बताएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो ।
सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र र प्राइम टाइम टेलिभिजनका ‘जनता जान्न चाहन्छन’ का कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौं ।
प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तरवार्ता दिँदै उनले आफूले निर्मला पन्तलाई बलात्कार गरिएको प्रत्यक्ष देखेको दाबी गरेका छन् ।तीनजनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने पनि अर्यालको भनाइ छ । उनको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ ।