अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर ८ २०८१
1.9K
SHARES

८ मंसिर काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो ।

संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपालका  राजदूत तेजबहादुर क्षेत्रीले देशको निर्यात व्यापारलाई प्रवर्द्धन गर्दै नेपाल र यूएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धिका निम्ति राजदूतावास क्रियाशील रहेको बताए ।

आर्थिक कूटनीतिका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सक्दो योगदान गर्न आफू प्रतिबद्ध रहेको उनले दोहोर्याए ।

त्यस अवसरमा नेपालका उद्योगी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली संघ, यूएई, नेपाल विजनेस काउन्सिल यूएई तथा यूएईमा रहेका उद्योगी–व्यवसायीबीच नेपाल र यूएईबीचको नेपालको व्यापार घाटालाई कम गर्दै यूएईका बजारमा नेपाली उत्पादनलाई सहज रूपमा स्थापित गराउने विषयमा छलफल भएको उक्त दूतावासले जनाएको छ ।