राष्ट्र बैंकका दर्जन कार्यकारी निर्देशक अवकाश पाउँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १० २०८१
1.5K
SHARES

१० मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकका अधिकृत विशिष्ट (कार्यकारी निर्देशक) पदमा कार्यरत एक दर्जन अवकाश नजिक पुगेका छन् ।आगामी एक वर्षभित्र करिब १ दर्जन कर्मचारीले कार्यकारी निर्देशक पदबाट अवकाश पाउने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकमा आन्तरिक बढुवा भएर पुग्ने उच्च पद कार्यकारी निर्देशक हो । कार्यकारी निर्देशकमध्येबाट दुई जनालाई नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नरमा नियुक्त गर्छ ।

गभर्नरले कार्यकारी निर्देशकमध्येबाट चार जनालाई डेपुटी गभर्नर नियुक्तका लागि सिफारिस गर्ने व्यवस्था छ । पाँच वर्ष कार्यकाल हुने डेपुटी गभर्नर कार्यकारी निर्देशकमध्येबाट नै नियुक्त हुने भए पनि त्यो राजनीतिक नियुक्ति हुने हो ।

आन्तरिक प्रतिस्पर्धामा बढुवा भएर पुग्ने सबैभन्दा ठूलो पद कार्यकारी निर्देशक हो । डेपुटी गभर्नर नियुक्त भएका कार्यकारी निर्देशकले स्वतः अवकाश पाएको मानिने व्यवस्था राष्ट्र बैंक कर्मचारी सेवा विनियमावलीमा छ ।

६ मंसिरमा कार्यकारी निर्देशक देवकुमार ढकाल ५८ वर्ष उमेर हदका कारण अवकाश भए । ५८ वर्ष उमेर हदका साथै ३० वर्ष सेवा अवधि र कार्यकारी निर्देशक भएको सात वर्ष सेवा अवधि पूरा भए पनि अवकास पाउने व्यवस्था छ ।यस्तै अधिकृत प्रथम श्रेणीमा १२ वर्ष सेवा पूरा भएपछि पनि अवकाश हुने व्यवस्था छ ।

को–को जाँदैछन् अवकाशमा ?

कार्यकारी निर्देशक देवकुमार ढकाल ३० वर्ष सेवा अवधिले ६ मंसिरबाट अवकाश भएका छन् । २६ माघमा कार्यकारी निर्देशकको पहिलो वरीयतामा रहेका नेफिल मताङ्गी मास्केले अवकाश पाउने राष्ट्र बैंकले जनाएको छ । उनले कार्यकारी निर्देशकका रूपमा सात वर्ष सेवा अवधि पूरा गरी अवकाश पाउन लागेका हुन् ।त्यस्तै २८ चैतमा एकसाथ कार्यकारी निर्देशक मुकुन्द क्षेत्री र पिताम्बर भण्डारी पनि अवकाश पाउँदैछन् । सोही दिन कार्यकारी निर्देशकका रूपमा उनीहरूको सात वर्षे कार्यकाल पूरा हुँदैछ ।

चैतमै कार्यकारी निर्देशकहरू सुमनकुमार अधिकारी र रामबहादुर मानन्धरले ५८ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेको राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।५८ वर्ष उमेर हदकै कारण जेठ २०८२ मा कार्यकारी निर्देशकहरू प्रकाशकुमार श्रेष्ठ र तुलसीप्रसाद घिमिरेले अवकाश पाउनेछन् ।यस्तै प्रदीपराज पौड्याल पनि साउन २०८२ मा ५८ वर्ष उमे हदका कारण अवकाश पाउने राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले बताए ।साउन २०८२ मै कार्यकारी निर्देशकका रूपमा सात वर्ष अवधि पूरा गरी ऋषिकेश भट्टले अवकाश पाउनेछन् । असोज २०८२ मा कार्यकारी निर्देशकका रूपमा ७ वर्ष अवधि पूरा गरी डा. गुणाकर भट्टले अवकाश पाउनेछन् ।

चैत २०८२ मा निर्देशकमध्येबाट दुई जना कार्यकारी निर्देशकमा बढुवा भएर अवकाश पाउनेछन् । निर्देशकको पहिलो वरीयतामा रहेका रामप्रसाद गौतम कार्यकारी निर्देशकमा बढुवा भएर असार २०८२ मा अवकाश पाउने राष्ट्र बैंकले जनाएको छ ।यस्तै अर्का कार्यकारी निर्देशक विमलराज खनालले पनि पुस २०८२ मा अवकाश पाउनेछन् । चैत २०८२ मा हाल निर्देशकमा कार्यरत रोशनकुमार सिग्देल पनि कार्यकारी निर्देशकमा बढुवा भएर अवकाश पाउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधिका कारण हुने अवकास सम्बन्धी व्यवस्थामा पटक–पटक विवाद हुँदै आएको छ । सन् २००३ देखि २००८ सम्म विश्व बैंकको सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गर्दा राष्ट्र बैंकको जनशक्ति पुनर्संरचना  पनि एउटा उद्देश्य थियो ।

उक्त कार्यक्रमसँगै राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधिको व्यवस्था भएको थियो । अधिक कर्मचारी, उनीहरूमा क्षमता अभाव, राष्ट्र बैंकको गतिलो नियमन र सुपरीवेक्षण नभएको निष्कर्ष सहित उक्त कार्यक्रम लागु भएको थियो ।३ हजारभन्दा बढी संख्यामा रहेका राष्ट्र बैंक कर्मचारी उक्त व्यवस्थाका कारण नै घटाएर पछिल्लो समय १ हजार देखि ११ सयमा सीमित छन् ।

राष्ट्र बैंकमा पुराना कर्मचारीलाई अककाश दिने र नयाँ क्षमतावान् युवा कर्मचारी अगाडि बढाउने योजना अनुसार सुरु भएको उक्त व्यवस्था २०७० को दशकमा आएर हटाउने प्रयास भएको थियो ।उक्त व्यवस्थाले क्षमता भएका कर्मचारी पनि अवकाश हुने भएकाले अनुभवी कर्मचारी अभाव हुन सक्ने र कर्मचारी घटाउने उद्देश्य पनि पूरा भएको भन्दै राष्ट्र बैंकले ३० वर्ष व्यवस्था खारेज गर्ने प्रयास गरेको थियो ।

राष्ट्र बैंकका कर्मचारी युनियन र तल्लो तहमा रहेका बढुवा हुने कर्मचारीले त्यसको विरोध गर्ने र ३० वर्ष सेवा अवधिकै कारण अवकाश पाउने अवस्थामा भएका कर्मचारीले  भने उक्त व्यवस्था हटाउनुपर्ने दबाब बढाउँदा विवाद बढ्दै गयो ।नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०७४ मा संशोधन हुँदा उक्त विषयमा ठूलो विवाद भएको थियो । राष्ट्र बैंक कर्मचारी सेवा विनयिमावलीमा ३० वर्ष सेवा अवधिमा अवकाश हुने व्यवस्था हटाउने प्रस्ताव भए पनि राष्ट्र बैंक कर्मचारी युनियनले त्यसको विरोध गरेको थियो ।अन्तिममा ३० वर्षे सेवा अवधिमा अवकाश हुने व्यवस्था यथावत् राख्दै राष्ट्र बैंकले विनियमावली संशोधन गरेर लोक सेवा आयोगमा सिफारिस गर्‍यो । त्यसपछि अवकाश हुने चरणमा पुगेका कर्मचारीले उक्त व्यवस्थाविरुद्ध अदालत गएका थिए ।

अदालतबाट उक्त मुद्दाको अन्तिम किनारा लागिसकेको छ । ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने व्यवस्था यथावतकै पक्षमा अदालतको फैसला आएपछि अहिले राष्ट्र बैंकमा उक्त विवाद समाधान भएको छ ।राष्ट्र बैंकमा पछिल्लो पटक ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने कर्मचारी छैनन् । ५८ वर्ष उमेर हद, अधिकृत विशिष्टिमा सात वर्ष सेवा पूरा वा  अधिकृत प्रथममा १२ वर्ष सेवा पूरा गरी राष्ट्र बैंकबाट कर्मचरी धामाधम अवकाश पाइरहेका छन् ।