रवि लामिछानेलाई बयानको लागि चितवन पुर्‍याइयो


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०८१
2.3K
SHARES

१८ मंसिर चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चितवन ल्याइएको छ ।लामिछानेलाई बुद्ध एयरको पहिलो उडानमार्फत काठमाडौँबाट चितवन ल्याइएको हो । साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याइएको हो ।

कडा सुरक्षा व्यवस्थाकाबीच लामिछानेलाई एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय चितवन लगिएको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिने जनाइएको छ ।

चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो । उनलाई चितवन ल्याइने भएपछि सुरक्षा चुनौती हुने देखेपछि प्रहरी प्रमुख एसपी मिश्रले कुन उडानमार्फत लामिछानेलाई चितवन ल्याइने भन्ने जानकारी सार्वजनिक गरेका थिएनन् ।साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो ।