भारतीय युवकले प्रकृतिलाई मानसिक यातना दिएको पुष्टि
६ फागुन काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई सोही कलेजमा पढ्ने एक भारतीय युवकले मानसिक यातना दिएको खुलेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा नै भारतीय प्रहरीले यस्तो निष्कर्ष निकालेको हो ।प्रकृतिलाई ब्ल्याकमेल र ह्यारेसमेन्ट गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् । उनलाई अहिले न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइरहेको छ ।
प्रकृतिको मोबाइल फोनसहित निजी सामानहरू प्रहरीले नियन्त्रणमा लिएको भुवनेश्वर-कट्टक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहले बताए । मोबाइललाई फरेन्सिक विज्ञान प्रयोगशालामा अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि थप तथ्यहरू फेला पर्ने उनको भनाइ छ ।आयुक्त सिंहले सविस्तार भने, ‘हामीले आइतबार साँझ केआइआइटी विश्वविद्यालयमा कम्प्युटर साइन्स तेस्रो वर्ष अध्ययनरत छात्राले आत्महत्या गरेको विषयमा सूचना प्राप्त गर्यौँ। यो सूचनालाई लिएर एउटा केस दर्ता भएको छ । नेपालकी ती छात्रालाई सोही विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत एक युवकले मानसिक यातना दिइरहेको आरोप थियो । हामीले प्रारम्भिक अनुसन्धान गर्दा यो आरोप पुष्टि हुने प्रमाण भेट्यौंम् । युवकबाट एक प्रकारको मानसिक यातना भोगेकैले आत्महत्या गरेको हुन सक्ने देखिएको छ । त्यसैले हामीले युवकलाई पक्राउ गरेका छौँ । उनको स्वास्थ्य परीक्षण गरेर न्यायिक हिरासतमा पठाइएको छ ।’
कलेजमा नेपाली र भारतीय विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन सुरु गरेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको उनले बताए । अहिले स्थिति शान्तिपूर्ण रहेको उनको दाबी छ ।यो घटनालाई लिएर भुवनेश्वरमा रहेको इन्फोसिटी पुलिस स्टेसनमा एफआइआर (फर्स्ट इन्फोर्मेसन रिपोर्ट) दर्ता भएको छ । प्रकृतिमाथि एक युवकले ब्ल्याकमेल गरेको भन्दै उनका एक आफन्तको नामबाट प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीले उक्त केसलाई भारतीय न्याय संहिता (बीएनएस) को धारा १०८ अन्तरगत दर्ता गरेको हो ।
एउटा फोन सम्वादको अडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ, जसमा ती युवकले प्रकृतीलाई अपशब्दसहित भद्दा गालीगलौज गरेको सुनिन्छ । यो अडियोको स्वतन्त्र पुष्टि भने भएको छैन ।केआइआइटी कलेजमा बी-टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति होस्टलको कोठाभित्रै सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा शनिवार साँझ फेला परेकी थिइन् । त्यस लगत्तै नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूलाई केही भारतीय विद्यार्थीले पनि साथ दिएका छन् । तर, कलेज प्रशासनले विद्यार्थीको माग सुनवाइ गर्नुको साटो उनीहरूमाथि दमन गरेको थियो । नेपाली विद्यार्थीहरू होस्टलबाट जबरजस्ती लखेटिएका थिए ।