एटीएम फोड्दाफोड्दै प्रहरीको नियन्त्रणमा परे ज्ञानेन्द्र


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०८२
2.8K
SHARES

२३ वैशाख काठमाडौं । बालाजु प्रहरीले गएराति एटीएम फोडेर रकम चोरी गर्दै हिँड्ने एक युवालाई पक्राउ गरेको छ । मध्यराति साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट ती युवा पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१३ का २९का ज्ञानेन्द्र ठकुरी छन् । ठकुरीले माछापुछ्रे बैंक र कुमारी बैंकको एटीएम तोडफोड गरेर रकम चोरी गर्ने प्रयास गरेका थिए ।

सोही सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले ठकुरीलाई बालाजु बाइपासबाट पक्राउ गरेको हो । उनले एटीएमबाट रकम भने चोरी गर्न नसकेको प्रहरीले जनाएको छ ।ठकुरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

ठकुरी सडकपेटीमा बस्ने गरेको र एटीएम फुटाउन जाँदा मदिरा समेत सेवन गरेको पाइएको छ । बालाजु प्रहरीले उनीमाथि अनुसन्धान थालेको छ । एक साताअघिमात्रै बालाजु प्रहरी वृत्तको कमान्ड ज्ञानबहादुर विष्टले सम्हालेका छन् । विष्टले बालाजु क्षेत्रको शान्ति सुरक्षा कायम गर्न आफूमातहतका प्रहरी कर्मचारीलाई कुनै कसरबाकी नराख्न निर्देशन दिएका छन् ।