नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १७ २०८२
5.6K
SHARES

१७ असार काठमाडौं । नक्कली प्रहरी बनेर शरीर बन्धक बनाई डाँका गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।

विराटनगर महानगरपालिका–१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई बन्धक बनाएर उनीहरुले डाँका गरेको आरोप छ ।स्कुटरमा सवार उनीहरूले ती व्यक्तिलाई रोक्दै ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेका थिए ।

त्यसपछि स्कुटरको बीचमा ती व्यक्तिलाई जबरजस्ती राखी विराटनगर महानगरपालिका–१४ जतुवास्थित एकान्त स्थलमा पुर्‍याई डर त्रास देखाई उनको साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ डाँका गरेको आरोप छ ।

गत बुधबार बिहान डाँका गरिएको थियो । यसबारे पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरू उपर शरीर बन्धक बनाएर डाँका गरेको कसुर मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ ।