आफूलाई प्रहरी बताएर लुट्ने समूहमा वाईसीएल कार्यकर्ता पनि
१९ असार विराटनगर । आफूलाई प्रहरीले बताएर लुटपाट गरेको आरोपमा विराटनगरमा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएलका पूर्वसदस्य कुशल पाण्डे पक्राउ परेका छन् ।प्रहरीका अनुसार, उनीमाथि विराटनगरमा पछिल्लो समय हुने गरेका लुटपाटका घटनामा संलग्न रहेको आरोप लागेको छ । पाण्डे यसअघि पनि विभिन्न आपराधिक घटनामा समेत मुछिने गरेका थिए ।
विराटनगर–११ का २६ वर्षीय पाण्डेलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध अपहरणसहित चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।
घटनामा संलग्न अन्य दुईजना समीर हुसेन र आशिव अन्सारीलाई प्रहरीले आइतबार नै पक्राउ गरेका थिए । पाण्डे फरार थिए । हुसेन विराटनगर–८ र अन्सारी विराटनगर–६ निवासी हुन् ।
असार ११ गते बिहान ११:१५ बजे आफूलाई प्रहरी बताउने एक समूहले विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेको थियो । उनको साथबाट नगद रकम लुटिएको थियो ।
पीडित साह महतो टोल विराटनगर–१३ बाट बैंकमा तीन लाख ६४ हजार रुपैयाँ जम्मा गर्न जाँदै थिए । आफ्ना भिनाजु धर्मानन्द साहले दिएको रकम लिएर आउँदै गर्दा उनी लुटपाटमा परेका थिए ।
उनलाई विराटनगर आँखा अस्पताल नजिकबाट पाण्डेसहितको टोलीले विराटनगर–१४ जतुवामा पुर्याएर आफूलाई प्रहरी बताएर लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पीडित विक्रमले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान थालिएको हो । घटनामा प्रयोग गरिएको को १४ प ३३३० नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, घटना गम्भीर भएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।