सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २१ २०८२
4.2K
SHARES

२१ साउन काठमाडौं । ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् ।श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् ।

सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको काठमाडौ प्रहरी परिसरले जनाएको छ ।‘मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जाहेरी परेको थियो,’ परिसरका एक अधिकृतले भने, ‘ठगी कसुर सम्बन्धी उजुरी आएको हो, श्रीवास्तव आफैं परिसर कार्यालयमा उपस्थित हुन आउनुभएको हो ।’

दीपेन्द्र अग्रवालले मिता तथा ज्योतिसहित विभिन्न १५ व्यक्तिका नाममा सेयर कारोबार गर्दै आएका छन् । उनले ती व्यक्तिका नाममा आफैं सेयर किन्ने र आफैंले बिक्री गर्ने गर्दै आएको धितोपत्र बोर्डको अनुसन्धानमा देखिएको छ । साथै, अग्रवालले ती १५ जनाबीच सेयर खरिद–बिक्री गरेर मूल्य बढाउने र समाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई किन्न लगाउने गर्दै आएको बोर्डको अनुसन्धानको निष्कर्ष छ ।प्रहरीका अनुसार उक्त ब्रोकर कम्पनीले उजुरीकर्ता दुईको कुल ११ करोड ५५ लाख रुपैयाँ सेयर कारोबार बापत फिर्ता नगरेको भन्दै ठगीको आरोप लगाइएको हो ।

उजुरी परेपछि कार्यलय पुगेका श्रीवास्तव उपर प्रहरीले आवश्यक अनुसन्धान गर्ने जनाएको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि कानुनी प्रक्रिया अगाडि बढेको छ । हिरासतमा राखेर अनुसन्धान गर्ने सन्दर्भमा जिल्ला अदालत काठमाडौंको अनुमति के हुन्छ त्यसमा भर पर्ने ती अधिकृतले बताए ।