तीजको नाच हेरेर फर्किरहेकी बालिका बलात्कृत


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २५ २०८२
1.4K
SHARES

२५ साउन सुर्खेत । दैलेखमा एक १२ वर्षीया बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको नाच हेर्न गएकी बालिका बलात्कृत भएकी हुन् ।

तिजको नाच हेरेर फर्किँदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी गरेको घटना सार्वजनिक भएपछि प्रहरीले चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।छिमेक गाउँकी १२ वर्षीया बालिकालाई पालैपालो बलात्ककार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले जानकारी दिए ।

उनका अनुसार साउन २२ गते राति उनीहरू सँगै तीजको नाच हेरिरहेका थिए । नाच हेरेर एकै उमेरका ४/५ जना किशोरीको समूह घर फर्किँदै थियो । त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थिए । पिछा गरेको थाहा पाएपछि किशोरीहरू भागे । त्यहीमध्येकी एक किशोरी भाग्ने क्रममा लडेपछि गोविन्द र खगेन्द्रले उनलाई पालैपालो बलात्कार गरेको दैलेख प्रहरीले जनाएको छ ।