नेपाल टेलिकमका तत्कालीन निर्देशक पौडेल लगायत ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
१९ भदौ काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन निर्देशक सुनिल पौडेल लगायतको ९ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय डा.कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।पूर्वसचिवहरू मधुकुमार मरासिनी, सञ्जय शर्मा लगायतलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
२५ वैशाख २०८१ मा विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीबाट २३ करोड २७ लाख असुल्नुपर्ने अनि त्यति नै रकम जरिवाना हुने फैसला गरेको थियो ।पौडेललाई विशेष अदालतले दोषी ठहर गरे पनि अख्तियारले भने आंशिक ठहर मात्रै गरेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ अन्तर्गतको थप सजाय तर्फको अभियोग दाबी नपुग्ने ठहर अदालतले गरेको थियो ।
विशेष अदालतबाट भ्रष्टाचार मुद्दा लागेका सचिव मधुकुमार मरासिनी सहित ६ जनाले सफाइ पाएका थिए । रामबहादुर बुढा, रमेश प्रसाद पोखरेल भन्ने रमेश पोख्रेल, रामशरण गायक, सफल श्रेष्ठ र निमबहादुर वलीले सफाई पाएका थिए ।
भ्रष्टाचारमा नै दोषी ठहर भएकाहरूलाई आफूले माग दाबी गरे सरह बढी सजाय हुनुपर्ने अख्तियारको दाबी छ । भ्रष्टाचारमा संलग्न भएको प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले त्रुटिपूर्ण ढङ्गले उनीहरूलाई सफाइ दिएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको थियो ।