‘मोहर’ हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर
२२ भदौ काठमाडौं । चलचित्र ‘मोहर’ हेर्दा ‘सुनको मोहर’ जित्ने निर्माणपक्षले ‘अफर’ ल्याएको छ । रिलिज भएको एक महिनापछि दर्शकका लागि ‘सुनको मोहर’ जित्ने अफर ल्याएको हो । ‘मोहर’ साउनको २३ गतेबाट प्रदर्शन भइरहेको छ । यो चलचित्रले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । देशका चारवटा हलमा गएर चलचित्र हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । चितवनको ‘म्याङ्गो जन ज्योति सिनेमा’, समाखुसीको ‘क्यूएफएक्स स्क्वायर मल’, कीर्तिपुरको ‘कीर्तिपुर सिनेप्लेक्स’ र न्यूरोडको ‘रञ्जना सिनेप्लेक्स’मा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् ।
म्याङ्गोमा चलचित्र हेर्नेमध्ये तीनजना तथा अन्य हलमा चलचित्र हेर्नेमध्ये दुई/दुईजनाले यो पुरस्कार प्राप्त गर्न सक्नेछन् ।दर्शकले चलचित्रको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा आफ्नो टिकट खसाल्नुपर्नेछ । जसमध्ये, भदौको २३ गतेबाट असोजको ११ गतेसम्म चलचित्र हेर्ने दर्शकमध्ये नाै जनाले यो पुरस्कार जित्न सक्नेछन् ।
भदौ २३ गते भन्दाअगाडि चलचित्र हेरेका दर्शकले पनि आफ्नो टिकट सुरक्षित राखेको भए यो उपहार योजनामा सहभागी हुन पाउने निर्माणपक्षले बताएको छ ।विजेताहरूलाई चलचित्रको ५१ दिने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने निर्माणपक्षले बताएको छ ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा चुम्बन जंग शाहीले निर्माण गरेको यो चलचित्रले बक्सअफिसमा पाँच करोडभन्दामाथिको व्यापार गरिसकेको छ ।चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मालगायत कलाकारको अभिनय छ ।