काठमाडौँ जिल्ला अदालतमा महराविरुद्ध मुद्दा दर्ता


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
1.7K
SHARES

२७ असोज काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार पक्राउ गरेको थियो। अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौैँमा मुद्दा दर्ता गरेको हो।उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको हो। उनी यही विषयमा २०८० चैत ५ गते  पनि पक्राउ परेका थिए। यसअघि पनि पक्राउ गरेकाले महराविरुद्धको अनुसन्धानका लागि धेरै समय नलाग्ने भन्दै मुद्दा दर्ता भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यही विषयमा केही दिनअघि बयान लिएको थियो।

०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरा जोडिएका छन्।भेपमा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए।

भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको अनुसन्धानबाट देखिएको छ।चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको समेत संलग्नता देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा उनीहरूलाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए।