‘झिँगेदाउ–२’मा महेश र आर्यनको प्रवेश
२७ कात्तिक काठमाडौं । चलचित्र ‘झिँगेदाउ–२’को कलाकारमा हेरफेर भएको छ । मुकुन भुसाल यो चलचित्रबाट बाहिरिएका छन् । उनको ठाउँमा महेश त्रिपाठी प्रवेश भएका छन् । ‘झिँगेदाउ–२’ छायांकनको अन्तिम तयारीमा छ । निर्माता समेत रहेका निर्देशक ज्ञानेन्द्र देउजाले मंसिर १५ गतेबाट छायांकन सुरु गर्ने बताएका छन् ।
निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण चलचित्रको छायांकनमा जान नसकेको बताउँदै आएका थिए ।
चलचित्रमा महेशसँगै आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, चैत्यदेवी सिंहलगायत कलाकार अनुबन्ध भइसकेका छन् । यसअघिका कलाकारहरूमा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, संगम भण्डारी, हिउँवाला गौतमलगायत कलाकार भने यथावत छन् । चलचित्र अर्को वर्षको दसैँमा रिलिज गर्ने निर्देशक देउजाले घोषणा गरेका छन् ।